स्नातक तह पुनः तीनवर्षे बनाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने जानकारी दिएका छन्।

त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए।

साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए। विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी संकायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए।

उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय