काठमाडौं । हिजो मात्रै बनेको चार दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो लगाउने बारे छलफल हुनेछ। यद्यपि आजको बैठकले मन्त्रालय भागबण्डाबारे टुंगो लाग्ने सम्भावना छैन। सरकारमा सहभागी भएका चार दलहरूबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ।
जसमा सरकारको नेतृत्व र राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने सहमति भएको छ। यस्तै राष्ट्रिय सभाको उपाध्यक्षमा भने नेकपा एमालेलाई सघाउन चार दलबीच सहमति भएको हो।
आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ।