काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट उनले विश्वासको मत लिने भएका हुन् ।
फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र नेकपा एसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।