काठमाडौं । रुसी सेनामा कार्यरत थप सात जना नेपाली युवाको मृत्यु भएको छ ।
मृत्यु हुने नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेके परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।
योसँगै रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।