काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको हो।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी|) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो। सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ।
सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्।