एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन सक्ने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आयातित कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले भने, “यदि मैले जितिन भने पूरै देशमा रक्तपात हुन सक्छ ।”
रिपब्लिकन पार्टीको राष्ट्रपतीय उमेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । यसअघि उनले सन् २०२० मा चुनावी धाँधलीका कारण जो बाइडेनसँग हारेको बताएका थिए ।
ट्रम्पको उक्त भनाइको जवाफ दिँदै अमरिकी राष्ट्रपति जो बाइडेनको चुनावी अभियानका प्रवक्ता जेम्स सिंगरले पूर्वराष्ट्रपति बदला लिन उत्सुक रहेको आरोप लगाए । “ट्रम्पले राजनीतिक हिंसाको धम्की दिइरहेका छन् । यसले उनको अतिवादलाई देखाउँछ” सिंगरले भने ।