रुसमा आतंकवादी हमलामा मारिनेको संख्या १३३ पुग्यो, चार पक्राउ

एजेन्सी । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको हो ।

यसैबिच रुसका सुरक्षा प्रमुखले राष्ट्रपति पुटिनलाई यस हमलामा संलग्न रहेको आरोपमा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । ती मध्ये चार जना प्रत्यक्ष आक्रमणसँग सम्बन्धित छन्।

आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । इस्लामिक स्टेट मध्यपूर्वमा अस्तित्वमा आएको एउटा अतिवादी समूह हो। कुनै समय सिरिया र इराकको बीचमा ३४ हजार वर्ग माइलको क्षेत्र आफ्नो नियन्त्रणमा थियो ।

अमेरिकाले पनि इस्लामिक स्टेटको आक्रमणको यो दाबी विश्वसनीय रहेको बताएको छ । अमेरिकाले पनि दुई साताअघि रुससँग यस्तो आक्रमणको सम्भावना रहेको दाबी गरेको छ ।

यो समूह सन् २०१९ मा झण्डै समाप्त भएको अवस्थामा पुगेको थियो। यद्यपि, यस वर्षको फेब्रुअरीमा, संयुक्त राष्ट्र संघले यो समूहले अफ्रिकामा स्थान हासिल गरिरहेको र यसको सामना गर्नु अझै पनि सुरक्षा चुनौती रहेको बताएको थियो।

एक अनुमानका अनुसार गत वर्षसम्म सिरिया र इराकमा इस्लामिक स्टेटसँग ६ हजारदेखि १० हजार लडाकुहरू आबद्ध थिए। शुक्रबार साँझ भएको यो हमला रुसमा विगत २० वर्षमा भएको सबैभन्दा ठूलो हमला हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय