सहकारी ठगी प्रकरणमा कुनै पनि संलग्नता नरहेको गृहमन्त्रीको प्रष्टोक्ती

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताएका हुन्।

‘सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु। न कुनै मुद्दा आएको छ,’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन।’

यसैगरी प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताए। ‘सहकारी ठगी सम्बन्धी उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,’ उनले भने, ‘उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन।’

बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गरे। ‘सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गृहमन्त्रीकै जस्तो रहेछ, तपाइ नै हो ? हो भने तपाईको पनि निष्पक्ष छानबिन जरुरी छ,’ उनले भने, ‘यदि छानबिनलाई विश्वसनीय बनाउने हो भने केही समयका लागि तपाई गृहमन्त्रीबाट बाहिर निस्कँदा राम्रो हुने छ।’

प्रतिक्रिया

सम्बन्धित खवर