काँग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक छ: गगन थापा

नवलपरासी। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन्। पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उनले नेपाली काँग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भनेका हुन्।

उनले नेपाली काँग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र संगठनप्रति उनीहरूमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे।

‘यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसीयाली आउँदैन,’ उनको भनाइ थियो। त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो।

पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उनले बताए। जिल्लाहरूमा जाँदा विविध खालका समस्याहरू देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो।

उनले आउने संसदीय निर्वाचनमा नेपाली काँग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिए। उनले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर