काठमाडौं। महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन्। बालुवाटारमा आज बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।
राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा छन्। विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थ सचिव थिए। यसअघि राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि उनले सचिवको जिम्मेवारी निभाएका थिए।
महालेखा परीक्षक संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ। गत जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहकको भरमा चलिरहेको थियो।
संवैधानिक परिषद्को सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरूसँग आवेदन मागेको थियो। रायसहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए।