नाउपाद्वारा सुदूरपश्चिम सरकारमा रहेकी राज्यमन्त्री गिरीलाई कारबाही

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीबाट सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गरेको छ। नाउपाले सांसद गिरीलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।

नाउपाका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले पत्र दर्ता गराएका हुन्। गिरी नाउपाकी समानुपातिक सांसद हुन्। ‘नागरिक उन्मुक्ति पार्टीबाट मनोनीत प्रदेश सभा समानुपातिक सांसद इन्दिरा गिरी ज्युलाई पार्टीको केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको हुँदा उहाँलाई आजैकै मितिबाट लागु हुने गरी फिर्ता पठाइदिनुहुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको नपाउले जनाएको छ। सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए।

सुदूरपश्चिम प्रदेश सरकारले चैत २२ गते प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ। यसैमा नागरिक उन्मुक्ति विभाजित छ। अध्यक्ष श्रेष्ठले विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन्। यसअघि नपाउ संस्थापन पक्षको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको थियो। तर, संस्थापन इतर समूहले भने सुदूरपश्चिम सरकारबाट बाहिरिन नहुने अडानमा छ। प्रदेश सभामा रहेका ७ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय