गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कास्की। गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ। संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए।

यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकेको पनि जारी विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ। यस प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय