इजरायल र हमासबीचको ६ महिना पूरा, अहिलेसम्म कति मानविय क्षती ?

एजेन्सी । इजरायल र प्यालेस्टिनको हमास समूहबीच लडाइ शुरु भएको आज छ महिना पूरा भएको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरूमध्ये एक सय २४ जना रिहा भएका छन् । बाँकी १४ जनाको शव भेटिएको छ भने अरूको अवस्था थाहा हुन सकेको छैन ।

त्यसको जवाफमा इजरायलले गरेको आक्रमणमा गाजामा ३३ हजार एक सय ७५ जना प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् । गाजा शहर ध्वस्त भएको छ । २० लाख जनाभन्दा धेरै घरबारविहीन भएका छन् । अस्पतालमा समेत इजरायलले बमबारी गरेर सेवा बन्द गराएको छ । मानवीय सहायताका सामग्री पुर्‍याउन नदिँदा कैयौँ मानिस भोकभोकै मरिरहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय स्वयंसेवकको टोलीमाथि इजरायली हमला हुँदा छ जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलको चर्को आलोचना भइरहेको छ । इजरायलले माफी मागेको छ । हमाससँगको बदला लिन सर्वसाधारणमाथि आक्रमण गरेर हत्या गरिरहेको भन्दै इजरायल सरकार र त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चर्को आलोचना हुन थालेको छ ।

विना सर्त इजरायलाई समर्थन गरिरहेका अमेरिका र बेलायतलगायतका देशले पनि गाजामा युद्धविरामका लागि इजरायललाई दबाब दिन थालेका छन् । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका सबैजसो निकायले इजरायले गाजामा युद्ध लडेको नभइ एकतर्फी आक्रमण मात्रै गरिरहेको बताइरहेका छन् ।

हमाससँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै गए राति इजरायलमा विशाल प्रदर्शन भएको छ । इजरायली सेनाले एकपछि अर्को बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य शहरमा दशौँ हजार जनाले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय