काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला

काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइने छ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ । उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारी साधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए । यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय