आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका: उद्योगमन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।

चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताए।

‘यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु,’ मन्त्री भण्डारीले भने। अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उद्योगमन्त्री भण्डारीले सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझावअनुसार कारबाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर मन्त्रिपरिषद्मा पेस गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताए। चार्टर्ड एकाउन्टेन्ट्स (सीए)ले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ थियो।

‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष नेपालले आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ। मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,’ उनले भने, ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेसा अगाडि बढिरहेको अवस्था छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय