काठमाडौं । बागलुङमा दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ ।
वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन ।
आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।
ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ ।

