काठमाडौं। उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिए पनि क्रिकेटर सन्दीप लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नहुने भएको हो ।
यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उहाँले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको हो । यसअघि चारपटक पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दा आज पहिलो नम्बरमै पेसी परेकाले सुनुवाइ हुने अपेक्षा गरिएको थियो ।
तर मुख्य न्यायाधीशसमेतको इजलास तोकिएकाले उहाँले मुद्दा हेर्न नमिल्ने भएको हो । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।