काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन् ।
आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गरेका हुन् ।
उनले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने पनि बताए ।