काठमाडौं। गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।
शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्।
राईलाई नेपाल ल्याउन मलेसियाका गृहमन्त्रीसँगआफूले छलफल गरेको उनले बताए। यसका लागि थप राजनीतिक र कूटनीतिक पहल आवश्यक रहेको तर्क उनले गरे। उनले भागेका मान्छेको मात्र उदाहरण नदिन आग्रह गर्दै पक्राउ पर्ने क्रम पनि बढेको दाबी गरे।
टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका वेला जीबी राईसँग सहकार्य गरेका र विभिन्न सहकारी ठगीमा समेत मुछिएका कारण अहिले गृहमन्त्री लामिछानेमाथि दबाब बढेको छ। राई लामिछानेकै संरक्षणमा रहेका आशंका पनि कतिपयले गरेका छन्।

