काठमाडौं । गुल्मीको इस्मा २ सिदुङ्खाका अग्निपीडितका लागि आवास बनाउने कार्यमा ज्यामीको अभाव देखिएको छ । त्यहाँ सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भइरहेको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए । उनका अनुसार अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता भएको छ । वर्षा सुरु हुनु अगाडि नै नयाँ आवासमा सार्ने गरी काम अगाडि बढाए पनि काम गर्ने ज्यामीको अभाव रहेको आचार्यको भनाइ छ ।
आगलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने छन् । त्यसमा गाउँपालिकाले १ लाख र प्रदेश, संघ सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । अग्निपीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
गत ८ वैशाखमा सामुदायिक वनबाट लागेको आगलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो । इस्मा–२ सिदुङखामा मात्रै आगलागीबाट ३० वटा घरगोठ जलेर नष्ट भएका थिए । त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा आगलागीले क्षति पुर्याएको छ ।
गुल्मीमा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेका छन् ।