छानबिन समिति गठनको विषयमा विपक्षी दलहरू थप सशक्त हुने

काठमाडौं। नेपाली काँग्रेससहितको विपक्षी दलहरूको बैठकले सदनमा सभामुख देवराज घिमिरेको भूमिका तटस्थ नभएको निष्कर्ष निकालेको छ। सोमबारको प्रतिनिधिसभा बैठक लगत्तै बसेको विपक्षी दलहरूको बैठकले सभामुख घिमिरेको भूमिकामाथि समेत प्रश्न उठाएको हो।

बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई थप सशक्त बनाएर जाने निर्णय गरेको छ। बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसदभित्रको लडाइ जारी राख्ने निर्णय गरेको छ। सरकारले संसद् बन्द गरे विपक्षी दल सडकमा पनि मिलेर जानेबारेमा आवश्यक निर्णय भएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए।

‘सहकारी प्रकरणमा थप सशक्त भएर प्रस्तुत हुन्छौं,’ शाहीले भने, ‘हाम्रो बैठकले सभामुखको आफ्नो पदीय जिम्मेवारीमा रहनुभएन भन्ने निष्कर्ष निकालेको छ।’ पछिल्लो समय काँग्रेसले राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितको बैठक गर्दै सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको विषयलाई उठाउँदै आएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए। यो घटनालाई गम्भीर रुपमा बैठकले लिएको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय