काठमाडौं । सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टाएको हो ।
विजयी कोलकाता जितसँगै फाइनलमा प्रवेश गर्यो भने पराजित हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ। सो अवसर तेस्रो र चौथो स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ। एलिमिनेटर खेल आज हुँदैछ।
दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ। फाइनल आगामी आइतबार चेन्नईमा नै हुनेछ।