कार्यदलको बैठक: संसदीय समितिको क्षेत्राधिकारमा सहमति भएन

काठमाडौं। सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको हो।

अहिले मतैक्य हुन नसके पनि बैठक पुनः बस्ने गरी सकिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको बताए।

उनले भने, ‘विभिन्न विषयमा आज पनि छलफल भयो। उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो। आज उहाँहरूले थप लचकता देखाउनुभएको छ।’ विगतमा उनीहरूले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उनले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताए।

प्रमुख सचेतक बर्तौलाले कार्यदलको बैठक नटुङ्गिएको जानकारी दिँदै आजै पुनः छलफल गरेर सहमति नै हुने बताए। उनले सहकारीको रकम अपचलन भएकाको हकमा उल्लेख गर्ने तर व्यक्तिलाई नै दोषी देखाएर जाने कुरा गलत रहेको धारणा राखे।

प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सह-महामन्त्री एवं सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय