१० महिनामा ९८ अर्ब ऋण थपियो

काठमाडौँ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

‘चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ’, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण रु ११ अर्ब ६४ करोड थप भएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।’

गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व रु ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिपिडी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व रु १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय