भौतिकमन्त्रीलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् ।

काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका नाममा यहाँका नागरिकले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यो नियन्त्रणमा ध्यान नदिएको र काम अगाडि नबढाइएको भन्दै उनले धुलो पठाउने घोषणा गरेका हुन् ।

बालेनले लेखेका छन्

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर