प्रधानमन्त्री भन्छन्, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएका छौँ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

नीति तथा कार्यक्रमले समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको बताए। सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सामाजिकरुपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएको बताए। उनले नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावमा आर्थिक समानता, सामाजिक न्याय, विकास निर्माण, राष्ट्रियता, परराष्ट्र नीति, शिक्षा स्वास्थ्य, लगानी प्रवर्द्धन लगायतका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने प्रतिबद्धता व्यक्त गरे।

संशोधनका केही विषयहरू संविधान तथा कानुनको संशोधन तथा परिमार्जन गर्नुपर्ने प्रकृतिको रहेकाले उक्त विषयमा संसदमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनका विषयहरू वार्षिक बजेटमा समेट्ने विश्वास दिलाए।

प्रधानमन्त्री प्रचण्डले संसद्को गत्यावरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘मैले बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।’

काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर