काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध ‘वार्म-अप’ खेल खेल्दैछ । डलासस्थित ग्रान्ड प्रेइरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि सुरु हुने भएको हो ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ । नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको ‘वार्म-अप’ खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।