न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कस्थित अदालतले एक यौन अभिनेत्रीलाई घुस दिएर निर्वाचनअघि चुप बस्न लगाएको अभियोगमा दोषी ठहर गरेको छ । त्यससम्बन्धी सजाय आउँदो जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले उक्त फैसलालाई सर्मनाक र धाँधली भएको बताएका छन् ।
अमेरिकाको इतिहासमा पहिलोपटक बहालवाला वा पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा चलेर दोषी ठहर गरिएको हो । अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रचार अभियान चलाउने टिमले फैसलालाई उचित भन्दै कोही पनि कानुनभन्दा माथि नहुने जनाएको छ ।
ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार हुन् । ट्रम्पको प्रचार टिमले फैसला सार्वजनिक भएपछि उनलाई राजनीतिक बन्दीका रूपमा पेस गर्दै अब अझै ‘ब्यालेट’बाट हराउन बाँकी रहेको जनाएको छ । बीबीसीबाट ।