नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका नगर्नुस्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणको सरकार निरन्तर अगाडि जाने बताएका छन्। सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले सत्ता समीकरणमा कुनै फेरबदल हुने हो कि भन्नेमा कुनै द्विविधा नपाल्न सांसदहरूलाई आग्रह गरे।

सत्ता घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा आशंका उब्जेको थियो। बैठकमा अध्यक्ष नेपाल प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएको सम्बन्धमा सांसदहरूले जिज्ञासा पनि राखेका थिए। दलको जवाफमा प्रधानमन्त्री प्रचण्डले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न आग्रह गरे।

उनले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’ आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए। ‘बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ। बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भने।

बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री प्रचण्डले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्त्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताएको उनले जानकारी दिए। बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराएका थिए। उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकांक्षा समेटिएको स्पष्ट पारेका थिए। बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय