काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अहिले नै तत्काल समिकरण फेरबदल नहुने बताएका छन् ।
नेता खनालले पार्टीको केन्द्रिय सचिवालयको बैठकको निर्णयअनुसार नयाँ समिकरणमा सहभागी भएको र अहिले पनि सोहि निर्णयमा रहेकाले सरकारबाट बाहिरिने कुनै सोच नभएको स्पष्ट पारेका छन् ।
पार्टी अध्यक्ष माधव नेपाल यहि बुधबार प्रमुख प्रतिपक्ष दलको बैठकमा सहभागी भएपछि नेकपा एसको सहभागीतामा वैकल्पिक गठबन्धनको तयारी भन्ने लगायतका विभिन्न किसीमका चर्चा र टिप्पणी भइरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रतिपक्ष दलका महन्थ ठाकुर, उपेन्द्र यादवसँगै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल र नेता मेटमणी चौधरी पनि सहभागी भएपछि नयाँ गठबन्धनको कसरत भइरहेको भन्ने राजनीतिक वृतमा चर्चा भइरहेको छ । प्रचण्ड सरकारमा नेकपा एसबाट दुई जना मन्त्री छन् भने सुदुरपश्चिम प्रदेशमा नेकपा एसकै नेतृत्व रहेको छ ।
नेता खनालले माधव नेपालको अन्य दलका नेताहरुसँग भेट्ने र कुराकानी गर्ने बानी भएको बताउँदै अहिलेको समिकरणभन्दा बाहिर जाने विचारले भेटवार्ता गरिएको हुन नसक्ने विश्वास व्यक्त गरे ।
माधवसँगै भेटमा गएका नेकपा एसका नेता मेटमणी चौधरीले पनि औपचारिक भेटवार्ता मात्रै भएको बताएका थिए । कांग्रेस सभापति देउवा अस्वस्थ भएको कारण देउवाको स्वास्थ्य अवस्था बुझ्न मात्रै अस्ति बुढानिलकण्ठमा भेटवार्ता जुरेको नेता चौधरीको भनाइ रहेको थियो ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नेपालबिच हिजो पनि भेटवार्ता भएको छ । भेटमा नेपाल देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको छ भने प्रधानमन्त्री प्रचण्डले पनि माधव नेपाल प्रतिपक्ष दलहरुको बैठकमा जाने कुरा आफूलाई जानकारी भएको र सहमतिमै गएको बताएको थियो ।
यस्तै नेता खनालले गठबन्धनमा आवद्धदलका शीर्षस्थ नेताहरुबिचको छलफल सकारात्म भएकाले अहिले नै तत्काल समिकरण तलमाथि नहुने दाबी गरे । बाहिर आइरहेका हल्लाहरु सत्य नभएकाले यहि हल्लाको भरमा भ्रम नफैलाउन पनि उनको आग्रह रहेको छ ।