भक्तपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले ऐन बनाएर सन्तानले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था गर्न लागेको बताएकी छन्। आज यहाँ आयोजित एक कार्यक्रममा उनले आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्ने गरेको, आफ्नै छोराछोरीबाट विभेदमा पर्ने गरेको घटना धेरै भएपछि सरकारले ऐनमा नै उक्त व्यवस्था गर्न लागेको बताइन्।
मन्त्री चौधरीले अब छिट्टै संसदबाट ज्येष्ठ नागरिक नियमावली प्रथम संशोधन २०८१ जारी हुने बताइन्। उनले आमाबुवाको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भएको बताइन्। ‘आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै गुम्सिएर बस्नु पर्ने अवस्था आएको छ। त्यसैले अब सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौं,’ उनले भनिन्, ‘विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई ७५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरेका छौं। संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुनेछ।’
मन्त्री चौधरीले उक्त ऐन कमाई वा आम्दानी नहुने आमाबाबुको हकमा अनिवार्य लागू हुने बताइन्। तर, सरकारी वा निजी क्षेत्रबाट कमाई गर्ने अवस्थामै रहेको, पेन्सन आउने आमाबाबुको हकमा उक्त ऐन लागू हुनैपर्ने अनिवार्यता भने नभएको उनको भनाई छ। ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोको रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र अपहेलित जीवन गुजार्न नपरोस् भनेर ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उनले बताइन्।
मन्त्री चौधरीले भनिन्, ‘हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्ने गरी सरकारसँग बजेट माग गरेका थियौं। तर अहिलेको बजेटमा हाम्रो मन्त्रालयको २९ करोड बजेट काटियो, तर पनि यो लक्ष्य पुरा गर्ने प्रयासमा हामी रहन्छौं।’

