राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग हुँदैन: मनीष झा

काटमाडौं। रास्वपाका सांसद मनीष झाले पुराना पार्टीले परिवर्तनको लागि गरेका संघर्षको कारण आफूहरूले अहिले राजनीतिक अवसर प्राप्त गरेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विशेष समयमा उनले विगतमा राजनीतिक दलहरूले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरूले सधैँ प्रशंसा गर्ने बताए।

तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने उनको भनाइ छ। सांसद झाले भने, ‘राजनीतिमा दुई ओटा कुरा भन्न सकिँदैन। एउटा कपिराईट (प्रतिलिपि अधिकार) र अर्को क्रेडिट (जस)। किनकि कुनै एउटा डाइमेन्सनले चेन्ज हुँदैन राजनीति। कुनै एउटा युद्धले राजनीति चेन्ज भएको पनि छैन। त्यो मल्टिडाइमेन्सनल (बहुआयामिक) हुन्छ। सबैको योगदान रहन्छ।’

उनले कोर्स परिवर्तन भएसँगै करिकुलम पनि परिवर्तन गर्नुपर्ने बताए। उनले आफूहरू पुराना पार्टीमाथि सबै दोष थोपरेर परिवर्तनको जस लिन नआएको पनि बताए। रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए। यो अवधिमा आफूहरू सक्दो राम्रो गर्ने प्रयासमा रहेको सांसद झाको जिकिर छ। सदन, राजनीति र राज्य व्यवस्थाका विषय आफूहरूले बुझ्न बाँकी रहेको र बुझ्दै गरेको उनको भनाई थियो।

सांसद झाले भने, ‘हामी प्रयास गर्दै छौं, हामी अरू केही विकल्प नभएर राजनीतिमा आएको होइनौं। हाम्रो विगत कमजोर पनि थिएन। हामी जेलमा यति दिन बस्यौं र बागबजारमा यति चोटि टायर बाल्यौं भन्ने आधारमै राजनीतिमा उभिरहेका पनि छैनौं। हामीसँग अरू धेरै आधारहरू छन्। केही गर्न आएका हौं, केही गर्ने प्रयास गरिरहेका छौं।’

उनले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोलिने बताए। ‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय