बुटवल । गुल्मीमा आज सोमबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकाको ओक्याङस्थित भित्री कच्ची सडकमा ग २ च ३२६२ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका ९८ भार्से बस्ने ३२ वर्षीय कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सत्यवती गाउँपालिका ८ भार्सेकी ३७ वर्षीय रिता छन्तेल, उनकी छोरी ४ वर्षीय ईरिसा, ७५ वर्षीय टेक बहादुर कला र २३ वर्षीय मेख बराल गम्भीर घाइते भएका छन् ।
यसै गरी घाइतेहरू २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र चालक २९ वर्षीय केशव रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।