शिक्षामन्त्री श्रेष्ठबारे ओलीले गरेको टिप्पणीमा रास्वपाले जनायो आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन्।

मन्त्री सुमना विदेशमा उच्च शिक्षा हासिल गरेर आजभन्दा १० वर्ष पहिला नेपाल फर्किएको र त्यसपछि निरन्तर समाजसेवामा रहेको बताउँदै उनले भर्खर घुम्दै आएको मान्छे मन्त्री भएको भनी गरिएको टिप्पणीमा आपत्ति जनाए।

‘विदेशमा उच्च शिक्षा हासिल गरेकी महिला नेतृ देश फर्किईन् १० वर्ष अगाडि। भुकम्पको बेला औषधि लिएर गाउँ पुगिन्। नाकाबन्दीको बेला सडकमा हिँडिरहेका मानिसहरुलाई यात्राको सुविधा प्रवाह गरिन्। उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन्। आज मन्त्री भइन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ। कहिले लुगामा टिप्पणी गरिन्छ। कहिले समानुपातिक सांसद भनेर होच्याउने प्रयास गरिन्छ, यही संसद्भित्र,’- उनले भने।

गत साता झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँग कुरा गर्दै ओलीले सुमना नेपाल घुम्न आउँदा मन्त्री भएको टिप्पणी गरेका थिए। कोठे छलफलका क्रममा उनले ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्’ भनेको भिडिओ क्लिप बाहिरिएको थियो।

केही दिनअघि ओलीले संसदीय दलको बैठकमा पनि सुमनालाई लक्षित गर्दै पानी पर्दा कहिलेकाहीँ माछा बर्सिएझैं शिक्षामन्त्री बनेको टिप्पणी गरेका थिए। यस्तै शनिबार आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा पनि उनले कथा शैलीमा माइती देशमा घुम्न जाँदा समानुपातिक सांसद र मन्त्री भइन् रे भन्दै कटाक्ष गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय