काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अदालतप्रति नागरिकको भरोसा कमजोर हुँदा डेमोक्रेसी प्रतिको भरोसा कमजोर हुने अवस्था सिर्जना भएको बताए।
प्रमुख सचेतक बर्तौलाले अदालतप्रतिको भरोसा जगाउने भनेको न्याय सम्पादनमा प्रभावकारिता, निपक्षता र स्वच्छता एवं छिटो न्याय सम्पादन भएको बताए। उनले ढिलो न्याय नपाउनु भनेको न्याय नपाउनुसरह भएको धारणा राखे।
उनले सर्वोच्च अदालतमा असाध्यै डरलाग्दो रुपमा मुद्दाको चाप रहेको बताए। उनले वि।स २०८० असार मसान्तसम्मको तथ्याङ्कअनुसार ४२ हजार १४ मुद्दा दर्ता,अधिल्लो पटकका जिम्मेवारी सारिएका ३० हजार ६ सय ३४ र यो वर्ष दर्ता भएको ११ हजार ३८० मुद्दा रहेको बताए।
उनले ४२ हजार १४ मुद्दामध्ये १३ हजार २७३ मुद्धा फर्स्योट भएको र फर्स्योट हुन बाँकी मुद्दा २८ हजार ७ सय ४१ मुद्दाको लगतभित्र पाँच वर्षभन्दा अगाडिका ४ हजार १६० बढी मुद्दाहरु रहेको बताए।