काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र काठमाडौँ महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधिसभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आवका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए।
भेटमा चक्रपथ निर्माण अलपत्र भएको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परे नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमै गर्नुपर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो।
बुधबार प्रतिनिधिसभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौतानुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोबीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ।
पौडेल र बालेनबीच काठमाडौँ महानगरको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताबारे पनि छलफल भएको छ ।