हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं : बिराजभक्त श्रेष्ठ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न आफूहरू प्रयासरत रहेको बताएका छन्। रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उनले सत्ता साझेदार दलहरूसँगै आफूहरूले पनि समीक्षा र पुनरावलोकन गर्नुपर्ने बताएका हुन्।

‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौं। हामीले सरकारको नेतृत्व गरिरहेका छौं,’ मन्त्री श्रेष्ठले भने, ‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौ। वर्तमान राजनीतिक परिस्थितिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ।’

उनले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीको जलेश्वर घोषणाका विषयहरू नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिए। गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो। सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिए।

‘जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ। पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन,’ उनले भने, ‘पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरू र आम नागरिकलाई बुझाउनुपर्ने बेला भइसकेको छ।’

त्यस अवसरमा उनले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरूले पुरस्कार बापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए। मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफ्नो एक सय दिनको प्रगति र समीक्षा गर्ने जानकारी समेत दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय