योगलाई कुनै धर्म र जातमा सीमित गर्न हुन्न: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन् ।

शुक्रवार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योग नेपाल भूमिबाट नै सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए ।

उनले भने ‘योग यसै भूमिबाट सुरु भएको थियो । हजारौँ वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यहरूमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग सुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले सुरु भएको थियो । बीचमा अलि ओझेल पर्दै गयो । अहिले योग भ्रान्तिहरूबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातीको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सिमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । मानव जातीको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्नेकुरासँग सम्बन्धित छ ।’

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताए । उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर