काठमाडौं । गृह सचिव एकनारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गरेको छ।
न्यूयोर्कमा असार १२ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन गृहसचिव अर्यालसँगै नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल पनि गएका छन्।
पाँच सदस्यीय टोलीमा डिआइजी दानबहादुर कार्की र सशस्त्र प्रहरीका एसएसपी किरण बस्नेत भ्रमण मण्डलमा सहभागी छन्। उनीहरूलाई एआइजी, डिआइजी, गृहका पदाधिकारी लगायतले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना दिएका हुन्।
शान्ति अपरेसनका लागि नवीन प्रयास र द्वन्द्वको सम्भावित क्षेत्र, द्वन्द्व र हिंसाको रोकथाम र दिगो शान्ति, शान्ति अभियान सुदृढ गर्ने लगायतका एजेण्डामा छलफलको कार्यक्रम रहेको नेपाल प्रहरीले जनाएको छ।