काठमाडौं । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् ।
जङ्गलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६ उर्लाघारीकी ६५ वर्षीया मङ्गली स्याङ्तान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति सात वर्षीय लासाङ, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र सात वर्षीया छोरी आरती स्याङ्तान बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाएको उनको भनाइ छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडामा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि यही असारको पहिलो हप्ता जङ्गली च्याउ खाँदा मकवानपुरका विभिन्न ठाउँमा तीन जनाको ज्यान गएको थियो ।

