काठमाडौँ । नेकपा एसले यहि महिनाभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ ।
भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको छ ।
पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिव पदका साथै ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।
नेता सोमप्रसाद पाण्डेका अनुसार सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको छ । वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगतिका साथै संगठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्ने जनाइएको छ ।
यस्तै पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने सुनिश्चितता कायम गरिएको छ ।