काठमाडौं । मनसुसन भित्रिएयता देशभर बाढीपहिरो र विपद्जन्य घटनाका कारण ८० जनाको मृत्यु भएकोे छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी ८० जनाको मृत्यु भएको हो ।
पछिल्लो पटक रुकुमपूर्वमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्
उता, उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी आठ वर्षका रुपकला मगरको ज्यान गएको छ । ४० वर्षीया हीरामाया मगर र उहाँका सात वर्षीय छोरा योगेश घाइते हुनुभएको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ, अरू पाँच घर उच्च जोखिममा छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पाँच हजार ४१ जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले ४१ वटा पुलमा क्षति गरेको छ । कतिपय पुल बाढीले बगाएको छ । एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

