एजेन्सी । भारतको उत्तर प्रदेशमा आज यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु भएको छ । यस्तै १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दूधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो।
बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो। दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्। प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ।