काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्। पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि छानबिन गर्न माग गरेका हुन्।
सर्वोच्च अदालतका दुई न्यायाधीशबीच पनि छानबिन गर्ने विषयमा राय नबाझिएको भन्दै ढकालले सहकारी काण्ड र दोहोरो पासपोर्टमा पार्टीले पनि छानबिन गर्नुपर्ने बताएका हुन्।
‘उहाँ (रवि) को दुईवटा पासपोर्ट छ। सहकारी प्रकरण कतै जाहेरी नपरेको भन्ने उहाँको दाबीलाई सर्वोच्चले गलत सावित गरिसकेको छ’, उनले भने, ‘त्यसैले संसदीय समितिले मात्र छानबिन गरेर पुग्दैन। यसमा स्वतन्त्र छानबिन समिति पार्टीले बनाएर छानबिन गर्नुपर्छ। र पासपोर्ट प्रकरणमा पनि स्वतन्त्र छानबिन समिति बनाउनुपर्छ। पासपोर्टको सवालमा किन भनिरहेको छु भने उहाँलाई दोषी ठहर गरेको खण्डमा कतै चुनाव लड्न नपाउने प्रावधान छ। त्यसकारण पार्टी जीवनसँग जोडिएको विषय हो यो। पार्टी जोगाउने कि नजोगाउने भन्ने महत्वपूर्ण विषय भएकोले यो यी विषयमा छानबिन हुनुपर्छ।’
१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।