कांग्रेसले बनायो सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड

काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए ।

त्यसैगरी बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब ५ दर्जन भन्दा बढी यात्रुहरू अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरि विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेसले गहिरो समवेदना प्रकट गरेको पनि प्रवक्ता महतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय