काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन्। मंगलबार वर्तमान सत्तासमीकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।
उनले ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताए। केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन बढेर गएको छ। यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ।’
जनमोर्चाले भनेको छ, ‘अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन्। केपी ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको छ।’ ओली प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको पनि सो पार्टीले जनाएको छ। ‘कांग्रेस र एमालेबिच बनेको नयाँ राजनीतिक समीकरणले नेपालको राजनीतिलाई थप प्रतिगमनको दिशामा लिएर जाने खतरा देखा परेको छ’, जनमोर्चाले आठ बुँदे निर्णयमा भनिएको छ। सम्झौता गोप्य राखिएबाट गम्भीर शंका गर्ने स्थिति रहेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।