काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आइतबार मनाइँदैछ।
आइतबार २६ घडी ५१ पला अर्थात अपराह्न ४ बजेर ६ मिनेटसम्म पूर्णिमा तिथि छ।
गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ।
वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु) को मुख्य भूमिका रहने मानिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ।