काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।
मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
उनले जनताका जल्दा बल्दा समस्याहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए ।
उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए । उनले वृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनः गठन निश्चित गर्ने पनि बताए ।