काठमाडौं । नेपाली महिला भलिबल टोलीले पहिलो पटक भारतमाथि जित निकाल्दै इतिहास रचेको छ ।
नेपालले काभा महिला भलिबल नेसन्स लिगमा शनिबार भारतमाथि ३–२ को सेटमा सफलता निकाल्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
महिला भलिबलमा नेपालको यो भारतविरुद्ध पहिलो जित हो । यसअघि नेपालले सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।
त्यतिबेला नेपाल ३–२ को सेटमा पराजित हुन पुगेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नै भएको समूहचरण खेलमा नेपालले भारतसँगको हारको श्रृंखलामाथि पूर्णविराम लगायो ।
नियमित सेटर तथा कप्तान जिनी केएसबिना खेलेको भारतले पटकपटक पछि परेको स्थिति उल्ट्याउँदै नेपाललाई चुनौती दियो । नेपालले पहिलो सेट २५–१८ ले आफ्नो बनाउँदै शुरुवाती आत्मबल बटुल्यो । तर दोस्रो सेटमा नेपालले शुरुदेखि तालमेल बिगा¥यो । यो सेट २५–१२ ले सहजै गुमाउन पुग्यो ।
यद्यपि, तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो बानाउँदै पुनः सेटमा अग्रता लियो । चौथो सेटमा पनि सुरुदेखि भारतले दबाब बनायो । सेटमा पछ्याउँदै नेपालले अग्रता २०–१८ ले छोट््याएको थियो । तर अन्तिम समयमा नेपालले लय गुमायो र भारतले सो सेट २५–१८ ले बाजी मा¥यो । त्यससँगै खेल निर्णायक तथा पाँचौं सेटतर्पm धकेलियो । निर्णायक सेटमा नेपालले शुरुदेखि नै अग्रता लिँदै दबाब बनाएको थियो । सोही अग्रता जोगउँदै सेट १५–१३ ले आफ्नो बनाउँदै भारतमाथि ऐतिहासिक जित रच्यो ।
बलियो टोली भारतविरुद्धको जितसँगै नेपालले प्रतियोगिताको लिगचरणमा शिर्षमा स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितसँगै नेपालले दुई खेलबाट पाँच अंक बटुल्यो । भारत तेस्रो खेलबाट सात अंक जोड्दै शिर्ष स्थानमा छ ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकामाथि जित निकालेको थियो । यता, भारतले भने पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्समाथि ३–० को सेटमा जित निकालेको छ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शिर्ष स्थानमा रहने टोली र चौथो हुने टोली तथा दोस्रो स्थानको टोली र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्दैछन् । नेपाल लिगको शिर्ष स्थानमा रहँदै फाइनलमा पुग्न बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्यमा छन् ।