काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएको छ। नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार(आज) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनुभएको छ । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बन्नुभएको छ।
मन्त्रीका लागि उहाँहरूको नाम शुक्रबार नै पठाइए पनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाउनुभएको थिएन ।
८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसद्बाट विश्वासको मत लिनुहुने भएको छ ।